काठमाडौँ – पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले आइतबार विरोधपत्र बुझाएको हो।
एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रमसमेत तय गरेको जनाएको छ। पार्टीले भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगप्रति असहमति जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेको छ।
ओली पक्राउपछिको अवस्थाबारे संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको संयोजन गर्न पार्टीले नेता विष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण विष्टलगायतलाई जिम्मेवारी दिएको छ।








