काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सातै प्रदेशलाई आफ्ना मातहतका निकायहरूको स्वीकृत दरबन्दीको विवरण उपलब्ध गराउन पत्राचार गरेको छ।
मन्त्रालयको संगठन विकास शाखाले सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेख्दै दरबन्दीको एकमुष्ट विवरण माग गरेको हो।
सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र एकीकृत जनशक्ति प्रक्षेपण तयार गर्ने उद्देश्यले यो विवरण माग गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालय (सचिवस्तर) को २०८२ चैत २० गतेको निर्णयानुसार प्रदेश अन्तर्गतका सम्पूर्ण निकायहरूको स्वीकृत दरबन्दी विवरण तयार गरी ३ दिनभित्र इमेलमार्फत उपलब्ध गराउन अनुरोध गरिएको छ।
मन्त्रालयका शाखा अधिकृत सुरेश खनालद्वारा हस्ताक्षरित पत्रमा उक्त विवरण मन्त्रालयको आधिकारिक इमेल [email protected] मा पठाउन भनिएको छ।









