काठमाडौं – काठमाडौंलाई गुण्डागर्दीको थलो बनाएकाहरु धमाधम पक्राउ पर्न थालेका छन् । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि प्रहरीले गुण्डागर्दीविरुद्धको अप्रेशन नै चलाएको छ । प्रहरीले अपरेशन नै चलाएर पक्राउ गर्न थालेपछि विगतमा राजनीतिक शक्तिको आडमा खुलेआम गुण्डागर्दीमा संलग्नहरुको अहिले भागाभाग नै भइरहेको छ ।
सर्वसाधारण र व्यसायीलाई डर, धाक र धम्की दिएर दुःख दिने अपराधिक गतिविधिमा संलग्न रहेकाहरुप्रहरीको मुख्य निशानीमा रहेका छन् । नागरिकको सुरक्षालाई विशेष ध्यानमा राख्दै प्रहरीले समूह नै बनाएर गुण्डागर्दीविरुद्ध गत शुक्रबार रातिबाट अप्रेशन सुरु गरेको छ ।
गन शुक्रबार रातिमात्रै काठमाडौंका विभिन्न ठाउँलाई आधार बनाएर गुण्डागर्दी गर्दै आएका १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छुट्टाछुट्टै टोली खटाएर गुण्डागर्दीमा संलग्नहरुलाई पक्राउ गर्न थालेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराई गुण्डागर्दीमा संलग्नहरुलाई कानूनी दायरामा ल्याइने बताउँछन् । ‘कुनै एउटा क्षेत्रलाई आफ्नो प्रभावको क्षेत्र बनाएर गलत फाइदा लिनेहरु पक्राउ परेका छन् । गुण्डागर्दीमा संलग्नहरुलाई हामी कानूनी दायरामा ल्याउँछौं,’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता भट्टराईले भने ।








