काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज पनि निरन्तर सुनुवाइ हुँदैछ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा यस विषयमा बहस सुरु भएको थियो।
आइतबारको सुनुवाइमा निवेदक ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले आफ्नो बहस समाप्त गरिसकेका छन्।
आजको इजलासमा भने महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट सरकारी वकिलहरूले सरकारको पक्ष लिँदै जवाफी बहस गर्ने कार्यक्रम तय भएको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले ‘जेनजी’ आन्दोलनका घटनाको जाँचबुझ गरी बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।
गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा भएको दमनमा जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो।
आफ्ना पतिहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै चैत १५ गते ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। सोही निवेदनमाथि अहिले अदालतमा कानुनी बहस केन्द्रित रहेको छ।








