images
images

प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई सोनाम लामाको खुलापत्र: “नियमनसँगै लगानीकर्ताको संरक्षण आवश्यक”

काठमाडौं — सेयर लगानीकर्ता सोनाम लामाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई सम्बोधन गर्दै खुलापत्र सार्वजनिक गरेका छन्, जसमा उनले हालको सेयर बजारको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

खुलापत्रमा उनले सरकारले अनैतिक क्रियाकलाप, कालोधन तथा सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि चालिरहेको कदमलाई सकारात्मक रूपमा लिँदै त्यसले बजारलाई दीर्घकालीन रूपमा पारदर्शी बनाउने विश्वास व्यक्त गरेका छन्। तर, यस्ता कदमका कारण समग्र लगानी वातावरणमा परेको प्रभावप्रति सरकार संवेदनशील हुनुपर्ने उनको आग्रह छ।

लामाका अनुसार बजारमा रहेका सबै लगानीकर्तालाई एउटै दृष्टिले हेर्नु उपयुक्त नहुने र अधिकांश साना लगानीकर्ताले आफ्नो मेहनतको कमाइ लगानी गरेको यथार्थलाई बुझ्न आवश्यक छ। उनले निरन्तर घट्दो बजारले साना लगानीकर्ताहरूको मनोबल कमजोर बनाएको उल्लेख गरेका छन्।

राजनीतिक स्थायित्वको अपेक्षासँगै बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरू अहिले निराश भएको उल्लेख गर्दै उनले सरकारबाट कम्तीमा लगानी सुरक्षाको आश्वासन अपेक्षा गरिएको बताएका छन्।

खुलापत्रमा उनले सरकारलाई नियमनसँगै संरक्षणको सन्तुलन कायम गर्न, स्पष्ट नीति तथा सकारात्मक सन्देश दिन आग्रह गरेका छन्। यसले मात्र लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न सकिने उनको भनाइ छ।

अहिलेको अवस्थामा सेयर बजारलाई केवल नियन्त्रणको दृष्टिले नभई आर्थिक विकासको महत्वपूर्ण सूचकका रूपमा हेर्न आवश्यक रहेको उनले जोड दिएका छन्।

https://www.facebook.com/share/p/14XcxoAw6SV/