काठमाडौं — सेयर बजारमा देखिएको उतारचढावबीच पूँजीबजार सुधारका लागि सरकार र सरोकारवालाबीच सकारात्मक पहल सुरु भएको छ। सिंहदरबारमा सोमबार भएको भेटमा स्वर्णिम वाग्ले र Stock Broker Association of Nepal का प्रतिनिधिहरूबीच महत्वपूर्ण छलफल भएको हो।
भेटमा ब्रोकर एशोसिएशनले पूँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन विभिन्न सुझावहरू प्रस्तुत गरेको छ। विगतका कार्यदलहरूले दिएका सुझावहरू कार्यान्वयनमा ल्याउन, बैंक तथा वित्तीय संस्थाहरूलाई बजारमा सहज प्रवेश–बहिर्गमनको व्यवस्था गर्न, र लगानीकर्तालाई थप सहज वातावरण सिर्जना गर्न जोड दिइएको छ।
यसैगरी, गैरआवासीय नेपाली (NRN) लाई दोस्रो बजारमा सहभागिता सहज बनाउने, सेयर कारोबारसम्बन्धी केही जटिल नियमहरू परिमार्जन गर्ने तथा ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ जस्ता महत्वपूर्ण संयन्त्र तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने विषय पनि उठाइएको छ। बजारलाई अझ सुरक्षित र व्यवस्थित बनाउन ‘अक्सन मार्केट’ सञ्चालनको आवश्यकता औंल्याइएको छ।
एशोसिएशनका प्रतिनिधिहरूले साना लगानीकर्ताको मनोबल जोगाउन अफवाह नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन्। यसले बजारमा विश्वास कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
जवाफमा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रमैत्री रहेको स्पष्ट पार्दै पूँजीबजार सुधारप्रति प्रतिबद्धता जनाएका छन्। उनले सुशासनलाई प्राथमिकतामा राख्दै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाउने लक्ष्यका साथ काम भइरहेको बताएका छन्। साथै, आगामी बजेटलाई रूपान्तरणकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
अर्थमन्त्रीले लगानीकर्तालाई अफवाहको पछि नलाग्न आग्रह गर्दै अर्थतन्त्र क्रमशः सुधारतर्फ अघि बढिरहेको र आगामी दिनहरू थप सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
यो भेटलाई पूँजीबजार सुधार, नीतिगत स्पष्टता र लगानीकर्ताको विश्वास पुनःस्थापनातर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।








