सर्लाही — सर्लाही क्याम्पस मलंगवाको सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष नागेश्वर राय यादवले क्याम्पसको समग्र सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकता बनाउने बताएका छन्। सोमबार क्याम्पस परिसरमा आयोजित पद तथा गोपनीयताको सपथ ग्रहण समारोहमा बोल्दै उनले क्याम्पसलाई देशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे।
गत चैत १७ गते सम्पन्न क्याम्पसको पाँचौं साधारणसभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका यादवसँगै सदस्यहरू रमेश लाल कर्ण, सत्य प्रकाश यादव र धर्मेन्द्र यादवले पनि सपथ ग्रहण गरेका छन्। कार्यक्रममा अध्यक्षता गरेका श्री कृष्णामति देवी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक महेन्द्र लाल कर्णले अध्यक्ष यादवलाई सपथ गराएका थिए भने त्यसपछि यादवले अन्य पदाधिकारीहरूलाई सपथ गराएका थिए।
यसैबीच, क्याम्पस प्रमुख राजेश कुमार यादवको सिफारिसमा पंकज कुमार झा र लालकिशोर भण्डारीलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको छ। उनीहरूले पनि सोही समारोहमा सपथ ग्रहण गरेका थिए।
सपथ ग्रहणपछि अध्यक्ष यादवले औपचारिक रूपमा पदभार सम्हाल्दै आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन्। पदभार ग्रहणलगत्तै उनले क्याम्पसमा निर्माणाधीन भवनको निरीक्षण गर्दै निर्माण कार्यको प्रगति, गुणस्तर र समयमै सम्पन्न गर्ने विषयमा विशेष चासो व्यक्त गरेका थिए।
सञ्चालक समितिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ। कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरू, शिक्षाविद्, सामाजिक अभियन्ता, जनप्रतिनिधि, प्राध्यापक, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुरेन्द्र रायले गरेका थिए।








