काठमाडौ — प्रतिनिधिसभाका सभामुख डीपी अर्याल ले आफ्नो कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सचिवालय गठन गरेका छन्। उनले सोमबार मुना कुँवरलाई प्रमुख स्वकीय सचिव तथा नवराज पाण्डेलाई स्वकीय सचिवमा नियुक्त गरेका हुन्।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका अर्यालले पदभार सम्हाले लगत्तै सचिवालय गठन गरेका हुन्। सचिवालयमार्फत आफ्नो कामलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउने उनको लक्ष्य रहेको छ।
प्रमुख स्वकीय सचिवमा नियुक्त मुना कुँवरले नेपाल सरकारको सहसचिव सरहको सेवा–सुविधा प्राप्त गर्नेछिन् भने स्वकीय सचिव नवराज पाण्डेले उपसचिव सरहको सुविधा पाउनेछन्।
पत्रकारिता क्षेत्रमा लामो अनुभव संगालेकी कुँवर यसअघि विभिन्न सञ्चारमाध्यममा सक्रिय थिइन्। उनी पछिल्लो समय Arthik News (आर्थिकन्यूज डटकम) को कार्यकारी सम्पादकको जिम्मेवारीमा थिइन्। साथै, Madan Bhandari College मा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनसमेत गरेकी थिइन्। उनले नयाँ पत्रिका दैनिक, कारोबार दैनिक, एभिन्यूज टेलिभिजन र हिमचुली एफएममा काम गरेको अनुभव राख्छिन्। कुँवरले आमसञ्चार तथा पत्रकारितामा एमफिल, विकास पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन पूरा गरेकी छन्।
त्यसैगरी, नवराज पाण्डे पनि पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी पछिल्लो समय Himalaya Television मा समाचार संयोजकका रूपमा कार्यरत थिए। उक्त पदबाट राजीनामा दिएपछि उनी सभामुखको सचिवालयमा आबद्ध भएका हुन्। उनले कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, ग्यालेक्सी टेलिभिजन र माउन्टेन टेलिभिजनमा कार्यक्रम सञ्चालन, रिपोर्टिङ तथा सम्पादनको अनुभव बटुलेका छन्।
पाण्डेले यसअघि रवि लामिछाने गृहमन्त्री रहेका बेला प्रमुख स्वकीय सचिव तथा प्रेस संयोजकका रूपमा समेत काम गरिसकेका छन्। २०६१ सालदेखि पत्रकारितामा सक्रिय उनले राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर गरेका छन्।
सभामुख अर्यालले गठन गरेको सचिवालयमार्फत संसदीय गतिविधि तथा प्रशासनिक कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।








