अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लगातार चेतावनी दिंदै आएका छन्। उनले तेहरानलाइ ‘स्ट्रेट अफ हर्मुज’ पुनःखोल्न आफूले दिएको समयसीमाभित्र सम्झौता नगरे अमेरिकाले ‘एकै रातमै’ इरानलाई ध्वस्त पार्न सक्ने बताए। होर्मुज जलडमरु विश्वका लागि अत्यन्त महत्वपूर्ण ऊर्जा मार्ग मानिन्छ।
ऊर्जाको निर्बाध आपूर्ति सुनिश्चित गर्ने ‘स्वीकार्य’ सम्झौताका लागि ट्रम्पले निर्धारण गरेको समयसीमा वाशिङ्टन डीसी समयअनुसार मंगलबार बेलुका ८ बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) तोकिएको छ।
ह्वाइट हाउसमा बोल्दै ट्रम्पले इरानका ‘समझदार’ नेताहरूले इमान्दारीपूर्वक वार्ता गरिरहेको विश्वास व्यक्त गरे, तर नतिजा भने अझै अनिश्चित रहेको बताए। इरानले भने अस्थायी युद्धविरामको प्रस्ताव अस्वीकार गर्दै दीर्घकालीन रूपमा युद्ध अन्त्य र प्रतिबन्ध हटाउनुपर्ने माग राखेको छ।
संयुक्त प्रेस सम्मेलनमा ट्रम्पसँगै ज्वाइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष डन क्यानी र रक्षा सचिव पिट हेगसेथ पनि सहभागी थिए, उनले हालै दक्षिणी इरानमा खसालिएको एफ–१५ लडाकु विमानका दुई चालक दल सदस्यलाई सुरक्षित उद्धार गरिएको घटनाबारे पनि चर्चा गरे।
यद्यपि, उनले मुख्य रूपमा अमेरिकी सेनाको साहसी उद्धार अभियानको प्रशंसा गरे पनि, होर्मुज जलडमरु नखोलेमा इरानको ऊर्जा र यातायात पूर्वाधारमा आक्रमण गर्न सकिने चेतावनी पुनः दोहोर्याए।
उनले भने, ‘पूरै देशलाई एकै रातमा समाप्त गर्न सकिन्छ र त्यो रात भोलि पनि हुन सक्छ।’ साथै उनले चेतावनी दिए कि समयसीमा नाघेपछि इरानलाइ ‘ढुंगे युग’ मा फर्काइने छ। उनले भने ‘त्यहाँ पुलहरू हुने छैनन्, पावर प्लान्टहरू हुने छैनन्।’
इरानले अमेरिकी माग अस्वीकार गरिसकेको भए पनि, ट्रम्पले निरन्तर इरानी नेतृत्वका तहहरू अमेरिकी र इजरायली आक्रमणमा मारिएपछि पनि वार्ता सकारात्मक दिशामा भइरहेको आशा व्यक्त गरे।
यद्यपि, क्षेत्रीय एक अधिकारीका अनुसार, कुनै पनि अर्थपूर्ण प्रगति हुनका लागि पहिले युद्धविराम आवश्यक हुन्छ। ती अधिकारीले नाम नखुलाउने सर्तमा बीबीसीलाइ भने कि सञ्चार अवरोधका कारण इरानी अधिकारीहरूसँग सन्देश आदानप्रदान गर्न निकै कठिन भइरहेको छ, जसले वार्ता झन् जटिल बनाएको छ।
पाकिस्तान, टर्की र इजिप्टले मध्यस्थताको प्रयास गरिरहेका छन्। ट्रम्पले आगामी योजनाबारे धेरै विवरण दिन चाहेनन्, केवल आफूँग ‘सबैभन्दा राम्रो योजना’ रहेको दाबी गरे।
कानुनी विज्ञहरूले भने इरानको पूर्वाधारमाथि योजनाबद्ध र निरन्तर आक्रमण युद्ध अपराध हुन सक्ने चेतावनी दिएका छन्। टेस ब्रिजमनले यस्तो कार्य ‘स्पष्ट रूपमा अवैध’ हुने बताएकी छन्।
यसअघि ट्रम्पले यस्तो सम्भावनाप्रति आफू ‘चिन्तित नभएको’ बताएका थिए र इरानका जनता स्वतन्त्रताका लागि दुःख सहन तयार हुने दाबी गरे, यद्यपि उनले सरकार परिवर्तन आफ्नो उद्देश्य नभएको स्पष्ट पारे। उनले बेलायत, नाटो र दक्षिण कोरियाजस्ता अमेरिकी सहयोगीहरूको पनि आलोचना गर्दै द्वन्द्वका बेला अपेक्षित सहयोग नगरेको आरोप लगाए।
अन्त्यमा, अमेरिकी सेनाको केन्द्रीय कमाण्डले युद्ध सुरु भएदेखि हालसम्म इरानभर १३,००० भन्दा बढी आक्रमण गरिसकिएको जानकारी दिइएको छ।








