images
images

नेप्से र टाइम फर्मास्युटिकल्सबीच सिलबन्दी बोलपत्र सम्बन्धी सम्झौता सम्पन्न

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र नवलपरासीको गैंडाकोटमा अवस्थित टाइम फर्मास्युटिकल्स लिमिटेडबीच सिलबन्दी बोलपत्र (Bidding) सम्बन्धी कार्य सञ्चालनका लागि सम्झौता भएको छ।

प्रचलित धितोपत्र ऐन र बुक बिल्डिङ निर्देशिका बमोजिम योग्य संस्थागत लगानीकर्ताहरूका लागि सेयर निष्कासन प्रक्रिया सहज बनाउन दुई संस्थाबीच यो समझदारी भएको हो।

सम्झौता पत्रमा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणि पुडासैनी र टाइम फर्मास्युटिकल्सका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

उक्त अवसरमा कम्पनीका सचिव सुदीप घिमिरे र सेयर बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्टका मनोहर कडेलको समेत उपस्थिति रहेको थियो।

टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिमार्फत प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका कुल १०,८६,५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ, जसको कुल मूल्य १० करोड ८६ लाख ५० हजार रुपैयाँ रहेको छ।

निष्कासन गरिने सेयरमध्ये ४० प्रतिशत योग्य संस्थागत लगानीकर्ताका लागि र बाँकी ६० प्रतिशत सर्वसाधारणका लागि छुट्याइने कम्पनीले जनाएको छ। यस सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ।

विगत ३० वर्षदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्स WHO-GMP प्रमाणित कम्पनी हो। यसको उत्पादन प्लान्ट गैंडाकोटमा रहेको छ भने ललितपुरको सातदोबाटोमा मार्केटिङ कार्यालय रहेको छ।

कम्पनीले हाल २०० भन्दा बढी गुणस्तरीय औषधिहरू उत्पादन गर्दै करिब ३०० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ।