काठमाडौं– ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन) नेपालको संयुक्त आयोजनामा चैत्र २२ गते शनिबार ‘स्प्रिङ जुम्बा फेष्ट’ सफलतापूर्वक सम्पन्न भएको छ।
रोयाल ट्यूलिप काठमाडौं हस्पिट्यालिटी पार्टनर रहेको यस कार्यक्रममा देशभरका करिब ४०० फिटनेसप्रेमी र लाइसेन्स प्राप्त जुम्बा प्रशिक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
बिहान ८ बजेदेखि सुरु भएको उक्त उत्सवमा जुम्बा नृत्यका साथै डिटक्स र डिस्ट्रेस जस्ता गतिविधिहरू मार्फत सहभागीहरूलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरिएको थियो।

जिन नेपालले हाल नेपालभर ५० भन्दा बढी लाइसेन्स प्राप्त प्रशिक्षकहरूलाई समेट्दै फिटनेस समुदाय विस्तारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। कार्यक्रममा बोल्दै ट्रान्क्यूलिटी स्पाकी प्रमूख मानव संसाधन तथा वित्त अधिकृत एवं जिन नेपालकी सदस्य निशा श्रेष्ठले यस्ता कार्यक्रमले मानिसलाई सक्रिय जीवनशैलीमा जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
वेलनेश संस्कृतिलाई थप प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी वैशाख १८ गते शुक्रबार ‘द सोल्टी काठमाडौं’ स्थित ट्रान्क्यूलिटी स्पामा जुम्बा प्रशिक्षक तालिमको समेत आयोजना गरिने भएको छ।
ट्रान्क्यूलिटी स्पा र जिन नेपालले भविष्यमा पनि यस्ता स्वास्थ्यवर्धक कार्यक्रमहरूमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएका छन्।








