काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज विश्व बैंकको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सौहार्दपूर्ण तथा रचनात्मक भेटवार्ता गरेको छ।
उक्त प्रतिनिधिमण्डलमा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड सिस्लेन, अपरेसन म्यानेजर आमेर अहमद, वरिष्ठ अपरेसन अधिकृत रीता ढकाल तथा वरिष्ठ ऊर्जा विशेषज्ञ न्गुयेट आन फान सहभागी रहेका थिए।
माननीय मन्त्री विराज भक्त श्रेष्ठसँग भएको शिष्टाचार भेटका क्रममा मन्त्रालयअन्तर्गत विश्व बैंकको सहयोगमा सञ्चालन भइरहेका आयोजना—विशेषगरी ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका कार्यक्रमहरूको प्रगति तथा प्रभावकारी कार्यान्वयनबारे विस्तृत छलफल भएको थियो।
छलफलका क्रममा डेभिड सिस्लेनले नेपाल केवल सहयोग प्राप्त गर्ने मुलुक मात्र नभई विश्व बैंकको एक हिस्सेदार (मालिक) समेत भएको उल्लेख गरे। उनले यसले संस्थाको साझा स्वामित्व संरचना झल्काउने र पारस्परिक उत्तरदायित्व, विश्वास तथा दीर्घकालीन सहकार्यमा आधारित साझेदारीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
साथै, उनले नेपालको नयाँ नेतृत्वप्रति उत्साह व्यक्त गर्दै आगामी दिनमा अझ सकारात्मक र प्रभावकारी सहकार्य हुने आशा व्यक्त गरे।
मन्त्रालयले ऊर्जा तथा जलस्रोत क्षेत्रमा दिगो, उत्थानशील र समावेशी विकासलाई अघि बढाउन विश्व बैंकसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ।








