अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको बमबारी र आक्रमणलाई दुई हप्ताका लागि स्थगित गर्ने घोषणा गरेका छन्। पाकिस्तानको नेतृत्वसँगको वार्तापछि ट्रम्पले यो कदम चालेका हुन्।
ट्रम्पका अनुसार यो एक “दोहोरो युद्धविराम” हुनेछ, तर यसका लागि इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण र सुरक्षित रूपमा तत्कालै खुला गर्नुपर्ने सर्त राखिएको छ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ पोस्टमा पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्सल असिम मुनिरसँगको कुराकानीले यस सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्।
उनले पाकिस्तानी नेताहरूले नै इरानमा पठाउन लागिएको “विनाशकारी सैन्य शक्ति” लाई रोक्न आग्रह गरेको बताएका छन्। ट्रम्पका अनुसार पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
आफ्नो पोस्टमा ट्रम्पले लेखेका छन्, “म दुई हप्ताको अवधिका लागि इरानमाथिको बमबारी र आक्रमण स्थगित गर्न सहमत भएको छु। यो इरानले हर्मुज जलडमरूलाई पूर्ण, तत्काल र सुरक्षित रूपमा खोल्न मञ्जुर गरेको खण्डमा मात्र लागू हुनेछ।”
उनले अगाडि थपेका छन् कि अमेरिकाले आफ्ना सैन्य उद्देश्यहरू पूरा गरिसकेको छ र अब मध्यपूर्वमा दीर्घकालीन शान्तिको लागि काम भइरहेको छ।
यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै हर्मुज जलडमरू नखोलेमा कडा आक्रमण गर्ने अल्टिमेटम दिएका थिए। हाल पाकिस्तानको सक्रिय कूटनीतिक पहलले गर्दा तत्कालको लागि ठूलो युद्ध टरेको देखिएको छ।
यदि यो दुई हप्ताको अवधिमा इरानले सर्तहरू पालना गरेमा र वार्ता सफल भएमा, यसले क्षेत्रमा स्थायी शान्तिको बाटो खोल्ने विश्वास गरिएको छ।







