काठमाडौं, बुधबार — बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालस्थित कूटनीतिक नियोगहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सामूहिक शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल सबै देशहरूसँग पारस्परिक विश्वास र लाभमा आधारित सम्बन्ध विस्तार गर्न इच्छुक रहेको बताउनुभयो। उहाँले नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीति अपनाउँदै आएको उल्लेख गर्दै बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यबाट निर्देशित हुने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्री शाहले मित्र राष्ट्रहरूले नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्नुभयो। साथै, विश्वमा जारी द्वन्द्वका कारण सर्वसाधारण नागरिकहरू प्रभावित भइरहेका उल्लेख गर्दै शान्ति सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो।
“द्वन्द्वको असर सर्वसाधारणमा पर्ने भएकाले शान्ति स्थापना हाम्रो साझा लक्ष्य हुनुपर्छ,” उहाँले भन्नुभयो, “यसका लागि सामूहिक प्रयास आवश्यक छ।”
उहाँले सरकार लगानीमैत्री वातावरण निर्माण, उद्यमशीलता प्रवर्द्धन तथा दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जानकारी दिनुभयो। साथै, राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा सुदृढ रूपमा समेट्ने लक्ष्य राखिएको बताउनुभयो।
प्रधानमन्त्री शाहले नयाँ सरकार भए पनि नीतिगत निरन्तरता कायम रहने उल्लेख गर्दै राजनीतिक स्थायित्व र पूर्वानुमानयोग्य नीति वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विकास, व्यापार, लगानी, जलवायु परिवर्तन तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य बढाउन सरकार इच्छुक रहेको पनि उहाँले जानकारी दिनुभयो। साथै, विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको उहाँले स्पष्ट पार्नुभयो।








