काठमाडौं — नेपाल विद्युत प्राधिकरण को सञ्चालक समितिको १०२९औं बैठकले जेन–जी आन्दोलनका सहिद परिवारका थप सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।
बुधबार सम्पन्न बैठकले २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनसँग सम्बन्धित सहिद परिवारमध्ये छुट भएका ८ जनालाई रोजगारी उपलब्ध गराउने निर्णय गरेको हो। उक्त निर्णय “जेन–जी आन्दोलनका घाइते व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२” को बुँदा नम्बर ११ तथा नेपाल राजपत्र (खण्ड ७५, अतिरिक्ताङ्क ३२, कार्तिक १७, २०८२) मा भएको व्यवस्थाअनुसार गरिएको प्राधिकरणले जनाएको छ।
यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारका सदस्यलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको थियो। पछिल्लो निर्णयसँगै थपिएका ८ जनामा रोजित श्रेष्ठ (बनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लम्जुङ) रहेका छन्।
यसैगरी, बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य को कार्यसम्पादन मूल्यांकनसम्बन्धी जानकारी समेत लिएको जनाएको छ।
प्राधिकरणको यो निर्णयले आन्दोलनका प्रभावित परिवारलाई राहत र रोजगारीको अवसर प्रदान गर्ने विश्वास गरिएको छ।








