काठमाडौँ – पदमुक्त भएका श्रममन्त्री दीपककुमार साहकी श्रीमती जुनु श्रेष्ठले स्पष्टीकरणसमेत नसोधी आफ्ना श्रीमान्लाई पदमुक्त गरेको भन्दै असन्तुष्टि जनाएकी छन्।
उनले बिहीबार आफ्ना श्रीमान् साहलाई स्पष्टीकरणको मौकासमेत नदिई पदमुक्त गर्दा दुःख लागेको बताएकी हुन्। उनले सामाजिक सञ्जालमा भिडियोमार्फत भनेकी छन्, ‘बिना कुनै स्पष्टीकरण पदमुक्त गर्दा मलाई धेरै दुःख लागेको छ। यसैलाई नै सुशासन भन्नुहुन्छ भने, सुशासनको ठप्पा लाउनुहुन्छ भने मलाई फेरि पनि गएर सुशासन के हो? भनेर पढ्नुपर्छ।’
स्वास्थ्य बीमा बोर्डको बैठकमा बोलाएपछि मात्रै आफू गएको भन्दै उनले आफूलाई जोडेर आफ्ना श्रीमान्लाई मन्त्री पदबाट हटाउनु सही नभएको बताइन्। उनी भन्छिन्, ‘यो कुरामा मेरो हजबेन्डलाई पनि मुछेर अहिले उहाँको पदमुक्त भयो, त्यसमा जोडिनुपर्छ भन्ने मलाई लाग्दैन।’
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री साहलाई बिहीबार पदमुक्त गरेका हुन्। प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गरेका हुन्।
रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित कार्यमा संलग्न गराएको भन्दै कारबाहीका लागि प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए।
यसअघि बुधबार नै रास्वपाको केन्द्रीय अनुशासन आयोगले यस विषयमा विस्तृत अध्ययन गरी साहलाई कारबाही गर्नुपर्ने प्रतिवेदन पार्टीसमक्ष पेस गरेको थियो।
मन्त्री साहको गतिविधिबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामा गम्भीर आँच पुग्ने देखिएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेले प्रधानमन्त्री शाहसमक्ष आयोगको प्रतिवेदनसहित सिफारिस पेस गरेका थिए।
पटकपटक बैठकमा अनुपस्थित श्रेष्ठ बोर्डको सदस्यको जिम्मेवारीबाट कारबाहीमा परेकी थिइन्। तर, आफू मन्त्री भएपछि साहले स्वास्थ्यमन्त्री निशा मेहतालाई दबाब दिएर आफ्नी श्रीमतीलाई सोही पदमा पुनर्स्थापना गराएका थिए।
महोत्तरी २ बाट सांसद बनेका साह यसअघि २०७३ सालमा एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगीमा परेको खुलेको छ। उनलाई प्रहरीले २०७३ असोज १६ गते एमबिबिएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।







