images
images

०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले कालोधनलाई वैध बनाउने गतिविधि आपराधिक भएको टिप्पणी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कालोधनलाई सेतो बनाउने कार्यलाई रोक्नु सरकारको नियमित दायित्व भएको जिकिर गरे  ।

‘म आफैँ अर्थमन्त्री हुँदा कानून बनाएको हो, कालोधनलाई वैध बनाउन पाइँदैन, मनी लाउण्ड्रिङ गर्न पाइँदैन । सरकारले त्यही अनुसारको मेकानिजम बनाएको छ । सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्नलाई अथवा नियमन गर्नलाई कारबाही गर्नलाई विभाग नै छ, सरकारसँग । अहिले मात्रै गर्न लागेको होइन, तपाईंलाई भ्रम नपरोस्, सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, त्यो नियन्त्रण गर्ने, हेर्ने विभाग छ । त्यो सरकारको रेगुलर काम हो,’ नेता पुनले भने ।

२०४८ सालपछि सार्वजनिक पदमा रहेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ । यसको लागि उच्चस्तरीय छानविन आयोग गठन गरिए अझ प्रभावकारी हुने उनले तर्क गरे ।

‘सम्पत्ति छानबिन गर्छ भने हामी २०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबै उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गरौँ । एक अर्कालाई आरोप लगाउनुभन्दा को रहेछ, कालोधनलाई सेतो बनाउने भन्ने थाहा हुन्छ । त्यसैले छानबिन होस्,’ पुनले भने ।