images
images

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति: ८९ तोला सुन, ६ किलो चाँदी, २२१ रोपनी जग्गा

काठमाडौँ- सरकारद्वारा सार्वजनिक गरिएको मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको नाममा करोडौँको शेयर लगानी र उल्लेख्य मात्रामा घरजग्गा रहेको देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गृहमन्त्री गुरुङको धितोपत्र बजारमा ठूलो लगानी रहेको पाइएको हो।

गृहमन्त्री गुरुङसँग कुल ४ करोड ३१ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको छ। जसमध्ये धितोपत्र बजारमा कारोबार हुने विभिन्न कम्पनीहरूमा मात्रै उनको २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी रहेको छ।

बैंक मौज्दाततर्फ लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ जम्मा रहेको विवरणमा उल्लेख छ।

जग्गाजमिनको हकमा गृहमन्त्रीको आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ।

यस्तै, उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा र बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्रीमा २२१ रोपनी विशाल भूभाग रहेको देखिएको छ।

सार्वजनिक गरिएको उनको सम्पत्ति विवरण अनुसार उनीसँग उल्लेख्य मात्रामा बहुमूल्य धातु समेत रहेको छ। उनले आफ्नो पैतृक सम्पत्तिका रूपमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण सरकारलाई बुझाएका छन्।