images
images

सरकारी विद्यालयको शैक्षिक सुधारमा युवाको नेतृत्वको उदाहरण: शैलपुत्री माविले देशकै उत्कृष्ट नतिजा दिलाउन सफल

गोरखा -माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई बारपाक सुलिकोट गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।

 

गाउँपालिका–७ स्थित शैलपुत्री माध्यमिक विद्यालयका विद्यार्थी युनिक पनेरुले एसईईमा उत्कृष्ट ४ जीपीए प्राप्त गरेपछि गाउँपालिकाले उनलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो।
गाउँपालिकाले शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने विद्यार्थी, शिक्षक तथा प्रधानाध्यापकलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार एसईई परीक्षा सुरु हुनुअघि नै कार्यपालिका बैठकबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएको थियो। सोही निर्णयअनुसार युनिक पनेरुलाई सम्मान गरिएको हो।

यसैबीच, शैलपुत्री माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठ (दीपक) ले पनि उत्कृष्ट नतिजा हासिल गरेका युनिक पनेरुलाई नगद ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुभएको छ। अध्यक्ष श्रेष्ठले आफ्नै व्यक्तिगत लगानीमा बाजागाजासहित बजार परिक्रमा गराउँदै विद्यार्थीलाई कार्यक्रम स्थलदेखि घरसम्म सम्मानपूर्वक पुर्‍याउनुभएको थियो।

सरकारी विद्यालयप्रति गहिरो विश्वास राख्ने अध्यक्ष श्रेष्ठ आफ्ना सबै सन्तानलाई समेत सरकारी विद्यालयमै अध्ययन गराउनुपर्ने मान्यता राख्नुहुन्छ। पछिल्लो समय उहाँ विद्यालयको शैक्षिक सुधारका लागि सक्रिय रूपमा लागिरहनुभएको छ। शिक्षक र विद्यार्थीलाई विभिन्न माध्यमबाट प्रोत्साहन गर्दै आएको उहाँको योगदानले विद्यालयको शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेलेको स्थानीयको भनाइ छ।

अध्यक्ष श्रेष्ठका अनुसार विद्यालय व्यवस्थापनको जिम्मेवारी युवाहरूले पाएपछि काम गर्ने उत्साह, शिक्षकहरूको प्रभावकारी परिचालन तथा सही निर्देशनका कारण विद्यालयले देशकै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। शैक्षिक सुधारका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको उहाँले बताउनुभयो।

शैलपुत्री माध्यमिक विद्यालयको यो उपलब्धिले सरकारी विद्यालयप्रतिको विश्वास बढाउनुका साथै समुदायस्तरमा शिक्षा सुधारको सकारात्मक सन्देश प्रवाह गरेको छ।