चितवन- नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक ‘लाइसेन्स’ परीक्षामा चितवन मेडिकल कलेज (सिएमसी) देशकै सर्वोत्कृष्ट कलेज बन्न सफल भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुरस्थित सिएमसीले यस वर्ष ९३.१० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै पहिलो स्थान हासिल गरेको हो।
जेठ १२ देखि १५ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा सिएमसीबाट एमबिबिएस तह पूरा गरेका ५८ विद्यार्थीमध्ये ५४ जना सफल भएका छन्।
काउन्सिलले सार्वजनिक गरेको विवरणअनुसार समग्र देशको नतिजा हेर्दा एमबिबिएसतर्फ ६३.५० प्रतिशत र बिडिएसतर्फ ८१.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
उत्कृष्ट कलेजहरूको सूचीमा ९२.२१ प्रतिशत (७७ मध्ये ७१ जना) विद्यार्थी उत्तीर्ण गराएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दोस्रो भएको छ।
त्यस्तै, ८९.७७ प्रतिशत (८८ मध्ये ७९ जना) विद्यार्थी सफल गराउँदै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तेस्रो स्थानमा समेटिएको छ।
स्वदेशी कलेजहरूको नतिजा उत्साहजनक रहँदा विदेशमा चिकित्सा शिक्षा पढेर फर्किएका नेपाली विद्यार्थीहरूको नतिजाले भने पुनः सबैलाई चिन्तित बनाएको छ।
तथ्याङ्कअनुसार भारतमा पढेका ४२.३१ प्रतिशत, बङ्गलादेशमा पढेका ४१.१४ प्रतिशत, फिलिपिन्समा पढेका २८.५७ प्रतिशत र चीनमा अध्ययन गरेका केवल १५.०४ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण हुन सकेका छन्।
इजिप्ट र रसियाबाट पढेर आएका सबै विद्यार्थी अनुत्तीर्ण भएकाले उनीहरूले पुनः परीक्षा दिनुपर्ने भएको छ।
नेपालमा पढेकाहरू बढीमा दुई पटकमै उत्तीर्ण हुने तर बाहिर पढेकाहरूले ७/८ पटकसम्म परीक्षा दिनुपर्ने अवस्थाले स्वदेशकै शिक्षण गुणस्तर राम्रो रहेको पुष्टि गर्छ।
सिएमसीका उपनिर्देशक अरुण कोइरालाले मेडिकल काउन्सिलको परीक्षालाई शैक्षिक गुणस्तरको मुख्य मानक मानिने बताउँदै कलेजको यो उत्पादन गर्व गर्न लायक रहेको उल्लेख गरे।
कुशल व्यवस्थापन, शिक्षक-कर्मचारीको खटाइ र विद्यार्थीको मेहनतले यो नतिजा सम्भव भएको भन्दै उनले आगामी दिनमा शतप्रतिशत नतिजा ल्याउने र सिएमसीलाई स्वदेशी तथा विदेशी विद्यार्थीको पहिलो रोजाइ बनाउने लक्ष्य राखे।
त्यस्तै, कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिश्चन्द्र न्यौपानेले शैक्षिक गुणस्तरमा कहिल्यै सम्झौता नगरेकाले नै यो सफलता मिलेको स्पष्ट पारे।
देशको मध्यभागमा रहेको सिएमसी शिक्षण अस्पतालमा बिरामीको चाप अत्यधिक हुनु, प्रयोगात्मक कक्षालाई उच्च प्राथमिकता दिनु र अनुशासित वातावरण हुनुले नै अब्बल विद्यार्थीहरू यस कलेजमा आकर्षित भइरहेको उनको भनाइ छ।
हाल करिब १ हजार ४०० विद्यार्थी अध्ययनरत रहेको यस कलेजमा स्नातक तह अन्तर्गत एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी मिडवाइफरी, पब्लिक हेल्थ, फार्मेसी, बिएस्सी एमएलटी (ल्याब) र बिएस्सी एमआइटी (रेडियोग्राफी) को पढाइ हुन्छ।
यसका साथै स्नातकोत्तर तहमा एमडी/एमएस, एमएन, एमपिएच, एमएस्सी माइक्रोबायोलोजी र विशिष्टीकृततर्फ एमडी/एमसिएच तहका उच्चस्तरीय शैक्षिक कार्यक्रमहरू समेत सञ्चालन भइरहेका छन्।








