images
images

गाईखुर स्वास्थ्य चौकीलाई नगर अस्पतालका रूपमा विकास गरिने

गोरखा- गोरखाको पालुङटार नगरपालिकाले गाईखुर स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालका रूपमा विकास गर्ने नीति सार्वजनिक गरेको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले गाईखुर स्वास्थ्य चौकीको भौतिक पूर्वाधार सुदृढीकरण, आवश्यक जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य सेवाको दायरा विस्तार गरी नगर अस्पताल सञ्चालनमा ल्याउने योजना अघि सारेको हो। पालुङटार नगरपालिकाको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै वडा नम्बर १ देखि ५ सम्मका नागरिकले हाल आँपपिपल अस्पतालबाट स्वास्थ्य सेवा प्राप्त गर्दै आएका छन्। तर वडा नम्बर ६ देखि १० सम्मका नागरिकहरू उपचारका लागि आवुखैरेनी अस्पताल वा गोरखा अस्पतालमा निर्भर रहनुपर्ने अवस्था रहेको छ।

यस अवस्थालाई सहज बनाउन तथा नगरवासीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले वडा नम्बर ६ र १० को बीचको केन्द्रविन्दुमा रहेको गाईखुर स्वास्थ्य चौकी (भोटेखाटे) लाई स्तरोन्नति गरी नगर अस्पतालका रूपमा सञ्चालन गर्ने नीति लिएको हो।

नगरपालिकाका अनुसार अस्पताल सञ्चालनमा आएपछि वडा नम्बर ६ देखि १० सम्मका नागरिकले सहज, छिटो र प्रभावकारी स्वास्थ्य सेवा आफ्नै नगरभित्र प्राप्त गर्नेछन्।