images
images

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दै छ: सञ्चारमन्त्री तिमिल्सिना

धादिङ – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्‍याउने छुट राष्ट्रिय स्वतन्त्र पार्टीलाई नरहेको बताएका छन्।

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस सुरु भएको बताएका हुन्। जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुनेमा जोड दिए।

‘देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको छ। हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,’ उनले भने, ‘राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ। जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन।’

सञ्चारमन्त्री तिमिल्सिनाले रास्वपाका हरेक सदस्यले आफूलाई नयाँ राजनीतिक संस्कारको संवाहकका रूपमा स्थापित गर्नुपर्ने बताए। पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलियातन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने उनको भनाइ थियो।

उनले प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले अघि सारेको सुशासन, पारदर्शिता र उत्तरदायित्वको दृष्टिकोणअनुसार सबैले देशका लागि योगदान दिनुपर्ने बताए। रासस