images
images

आईटी र एआई क्षेत्रको विस्तारले युवालाई स्वदेशमै अवसर : राजेन्द्र मल्ल

पोखरा-नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले युवा पलायन रोक्न कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारी तथा अवसर विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ।

कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाईला’को उद्घाटन गर्दै उहाँले विश्व एआई केन्द्रित अर्थतन्त्रतर्फ तीव्र गतिमा अघि बढिरहेको अवस्थामा नेपालले पनि आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी बढाउनुपर्ने बताउनुभयो। मल्लले नेपालमा प्रशस्त युवा जनशक्ति र प्रतिभा रहेको उल्लेख गर्दै सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको महत्वपूर्ण आधार बन्न सक्छ। उहाँले एआई कम्प्युट केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, प्रशिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीले विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच पाउने बताउनुभयो। यसले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माणमा टेवा पुग्ने उहाँको विश्वास छ।

मल्लले एआई शिक्षा, अनुसन्धान र नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै आज एआई सिक्ने र नवप्रवर्तनमा सक्रिय हुने युवाले नै भविष्यको डिजिटल अर्थतन्त्रको नेतृत्व गर्ने बताउनुभयो। बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै उहाँले कक्षा १२ पछि नेपाली युवाका लागि स्वदेशमै अध्ययनसँगै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। पार्टटाइम रोजगारी, डिजिटल सीप, इन्टर्नसिप तथा उद्यमशीलताका अवसर विस्तार गर्न सके विदेश पलायनको प्रवृत्ति उल्लेखनीय रूपमा घटाउन सकिने उहाँको भनाइ थियो। उहाँले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो। नेपालसँग प्रतिभाशाली युवाको कमी नभए पनि अवसर र उपयुक्त वातावरणको अभावका कारण उनीहरू विदेशिन बाध्य भइरहेको उहाँले बताउनुभयो।

मल्लका अनुसार नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा तथा प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अवलम्बन गर्न सके निकट भविष्यमा दक्षिण एशियाको महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्छ।