images
images

तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सिजीबीच सम्झौता

काठमाडौँ – म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबीच नेपाल र भारतमा तीन वटा नयाँ सुविधा सम्पन्न होटलहरू सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।

आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले यस साझेदारीको घोषणा गरेका हुन्। सम्झौताअनुसार काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ तथा भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट’ होटल सञ्चालनमा आउनेछन्।

यी तीन वटा प्रतिष्ठित ब्राण्डहरूको विस्तारसँगै दक्षिण एसियाली क्षेत्रमा विलासी आतिथ्य (लक्जरी हस्पिटालिटी) र पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने विश्वास गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डेभिड म्यारियटले सिजी कर्प ग्लोबलसँगको बढ्दो सम्बन्धप्रति खुशी व्यक्त गरे।

उनले भने, ‘आजको सम्झौता म्यारियट इन्टरनेसनल र सिजी कर्प ग्लोबलबीचको सम्बन्धमा एउटा महत्वपूर्ण कोशेढुंगा हो। यी नयाँ होटलहरूले हाम्रा सहयोगीहरूका लागि वृद्धिको अवसर, लगानीकर्ताका लागि प्रतिफल र पर्यटकहरूका लागि उत्कृष्ट अनुभव प्रदान गर्नेछन्।’

नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य संस्कारको प्रशंसा गर्दै अध्यक्ष म्यारियटले नेपालमा पर्यटन पूर्वाधारको विकास र विस्तारका लागि म्यारियट प्रतिबद्ध रहेको बताए। उनले सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी र सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीसँगको दीर्घकालीन साझेदारीले पर्यटन अर्थतन्त्रलाई थप सबल बनाउने विश्वाससमेत व्यक्त गरे।

अध्यक्ष म्यारियटले म्यारियट इन्टरनेसनल आफ्नो स्थापनाको १०० औँ वर्षतर्फ उन्मुख भइरहँदा यस्ता साझेदारीले मानिसहरूलाई जोड्ने र पुस्तौँसम्म दिगो सम्बन्ध कायम राख्न मद्दत गर्ने धारणा राखे। यो सहकार्यले नेपालको पर्यटन क्षेत्रमा उच्चस्तरीय सेवाको सुनिश्चितता गर्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि थप उच्च बनाउने लक्ष्य राखेको छ।

कार्यक्रममा सिजी हस्पिटालिटीका प्रबन्ध निर्देशक राहुल चौधरीले यो साझेदारीले नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रको सम्भावनामाथि म्यारियटको उच्च विश्वासलाई झल्काएको बताए। सिजी र म्यारियटबीचको व्यावसायिक सम्बन्ध छोटो समयमै निकै सुदृढ बनेको बताउँदै उनले दुई वर्षअघि फिलिपिन्सको चर्चित ‘द फार्म एट सान बेनिटो’लाई म्यारियटको ‘अटोग्राफ कलेक्सन’मा आबद्ध गरेको बताए।

भारतमा ‘फर्न’ ब्राण्डअन्तर्गत म्यारियटसँगको सहकार्यमा हाल करिब १ सय ५० होटलहरू सञ्चालनमा रहेका छन् भने सन् २०३१ सम्ममा सो सङ्ख्या ५ सय पुर्‍याउने लक्ष्य राखिएको छ। यसबाहेक दुबईमा ‘जेडब्लु रेजिडेन्सेस’को निर्माणसमेत अघि बढिसकेको छ।

उनले भने, ‘यो दिन नेपालका लागि अत्यन्त विशेष र महत्वपूर्ण छ। विश्वका प्रतिष्ठित ब्रान्डहरूको आगमनले नेपाललाई विश्व हस्पिटालिटी मानचित्रमा नयाँ उचाइमा पुर्‍याउनेछ।’

नेपालमा यी परियोजनाहरूलाई सफल बनाउन सिजी डेभलपर्ससँगै आइजी ग्रुप, आइसिजी ग्रुप, शर्मा कन्स्ट्रक्सन, एमएलई ग्रुप र एमएलए ग्रुपले साझेदारी गरेका छन्।

सरकारको पर्यटन केन्द्रित भिजनलाई आत्मसात गर्दै यी अन्तर्राष्ट्रिय ब्राण्डहरूको उपस्थितिले नेपाललाई विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।