काठमाडौँ -अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
शिक्षा मन्त्रालयले बिहीवार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचाक गरेको हो।
मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मीकि विद्यापीठको नामबाट “एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा” भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ।
अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ।








