काठमाडौं – सामुदायिक विकास संघ, काठमाडौं महानगरपालिका–१६, वनस्थलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरी A+ ग्रेड प्राप्त गरेका आफ्ना आजीवन तथा आवधिक सदस्य परिवारका विद्यार्थीहरूलाई सम्मान गरेको छ।
संघ भवनमा आयोजित परिचयात्मक एवं सम्मान कार्यक्रममा आर्यन सुवेदी, ऋतिशा श्रेष्ठ, प्रसन्न सापकोटा, सुजय बोहरा, स्वस्तिका सापकोटा, दिक्षान्त श्रेष्ठ तथा समृद्धि वाग्लेलाई सम्मान गरिएको थियो। कार्यक्रममार्फत विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गरिएको थियो।
संस्थाका अध्यक्ष भीष्म घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूको परिचय गराउँदै उनीहरूको सफलताको प्रशंसा गरिएको थियो।

संघका कोषाध्यक्ष सुदन थापाले संस्थाले आफ्नो स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्य, खेलकुद तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल संघमा ५०० भन्दा बढी सदस्य आबद्ध रहेका छन्। संस्थाले समुदायको हितका लागि निरन्तर विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा वक्ताहरूले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समाजमा शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेका थिए।
आगामी दिनमा पनि शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ।








