गोरखा – पालुङटार नगरपालिका–६ स्थित गाईखुर स्वास्थ्य चौकी, भोटेकोटमा नगर स्तरीय आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।
पालुङटार नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममार्फत स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने अभियानलाई औपचारिक रूपमा अघि बढाइएको हो।
वडा नं. ६ का अध्यक्ष चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने नगर उपप्रमुख बन्दना पाण्डे विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव मनोज नेपाली सिर्मल, वडा नं. १ देखि १० सम्मका वडाध्यक्षहरू, जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विवस चिन्तनले स्थानीय सरकारको मुख्य दायित्व नागरिकलाई आधारभूत सेवा प्रवाह गर्नु रहेको बताउँदै स्वास्थ्य क्षेत्र नगरपालिकाको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। उहाँले अस्पताल सञ्चालनसँगै नगरवासीले नजिकैबाट सहज र प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि उपप्रमुख बन्दना पाण्डेले स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार भएको बताउँदै अस्पतालको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष चेत बहादुर गुरुङले नगर र वडाको समन्वयमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा अस्पताल उद्घाटनलाई लिनुपर्ने बताउनुभयो। उहाँले यसबाट विशेषगरी दुर्गम क्षेत्रका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।
अस्पताल उद्घाटनसँगै नगर स्तरीय आधारभूत अस्पतालमार्फत स्थानीय नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा औपचारिक रूपमा प्रदान गर्न थालिएको छ।
यसले पालुङटार नगरपालिकाभित्र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।








