काठमाडौं-काठमाडौं को बालाजु क्षेत्रमा विगत केही दिनदेखि अलपत्र र प्यारालाइज्ड अवस्थामा रहेको एक बेवारिसे कुकुरको बेस्ट बालाजु क्लबले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ।
क्लबका अध्यक्ष जीवन अधिकारी र सदस्य राजन कार्कीले घाइते कुकुरको उद्धार गरी अस्पतालको सघन उपचार कक्षमा भर्ना गराएका हुन्। अस्पताल स्रोतका अनुसार कुकुर प्यारालाइज्ड रहेको र यसको मेरुदण्डसमेत भाँचिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उपचार सम्पन्न भएपछि उक्त कुकुरलाई थप हेरचाह र संरक्षणका लागि साहारा फाउन्डेसनको जिम्मा लगाइने जनाइएको छ।
विगत केही दिनदेखि बालाजु क्षेत्रमा अलपत्र अवस्थामा रहेको कुकुरको उद्धार गर्दै बेस्ट बालाजु क्लबले पशु कल्याणप्रति सामाजिक जिम्मेवारी निर्वाह गरेको छ। क्लबले लामो समयदेखि विभिन्न सामाजिक सेवामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ।
कोभिड–१९ महामारी, भूकम्पलगायत विपद्का बेला राहत तथा उद्धारका कार्यदेखि सडक दुर्घटनामा परेका व्यक्ति र आवश्यक परेकाहरूलाई सहयोग पुर्याउँदै आएको बेस्ट बालाजु क्लबले यसपटक पनि घाइते तथा बेवारिसे जनावरको उद्धार र उपचारमा अग्रसरता देखाएको हो।








