हुम्ला – यस पटक हालसम्म हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको यात्रा गर्ने भारतीय पर्यटकको संख्या ४ हजारभन्दा बढी रहेको छ।
यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने क्रम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेका हुन्।
यस वर्ष वैशाख ३० गतेबाट भारतीय पर्यटक मानसरोवर कैलाशको दर्शनका लागि जिल्लामा थालेको र हालसम्म हुम्ला आइपुग्ने भारतीय पर्यटकमा दुई हजार ४६ जना महिला र दुई हजार ६३ जना पुरुष रहेको प्रहरी निरीक्षक बिष्णु श्रेष्ठले जानकारी दिए।
सिजन सुरु भएसंगै दैनिक ८० देखि दुई सय जनासम्म भारतीय पर्यटक हवाईमार्गबाट हुम्ला आउने गरेको पर्यटन व्यवसायी रन्जित लामाले बताए।
यसले गर्दा विजय, कैलाश, मानसरोवर, कर्णाली, हुम्ला, पोतला, एलिसलगायत होटल तथा रिसोर्टमा पर्यटकले भरिभराउ हुने गरेको छ।
पर्यटकको आवागमन हुने क्रम बढेपछि ताराको एउटा, सीताका दुई वटा र समिट एयरका तीन वटा जहाजले बिहान सात बजेबाट बेलुका अवेरसम्म नेपालगञ्जबाट सिमकोटका लागि उडान भर्दै आएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले बताए।
त्यसैगरी ६ वटा कम्पनीका ६ वटा हेलिकोप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन्। हेलिकोप्टर बिहान साढे ६ बजेबाट बेलुका सात बजेसम्म उडान भर्दै आएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेगमीले जानकारी दिए।








