काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र एन्फाको निलम्बन नभएको बताएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसअघिका सरकारबाट विभिन्न समयमा हस्तक्षेप भएका कारण एन्फालाई फिफाले निलम्बन गरेको बताएका हुन्।
नेपाली फुटबल अब योभन्दा तल जाने ठाउँ नरहेको भन्दै खेलकुदलाई वर्तमान सरकारले माथि उठाउने दाबी गरे। उनले अहिले एन्फासम्बन्धी धेरै भ्रष्टाचारका उजुरीहरू परेको र राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्षको अध्यक्षतामा छानबिन समिति गठन गरेको बताए।
एन्फाका पदाधिकारीहरू विश्वकपमा नेपालको फुटबलले केही न केही उपलब्धि हासिल गरेपछि मात्रै जान पाउने बताए। फिफा र एएफसीका पदाधिकारीहरूलाई वार्ताका लागि बोलाइसकेको बताउँदै उनीहरू आएपछि विस्तृत छलफल गरिने बताए।
नेपालको फुटबललाई जसरी भए पनि माथि उठाउने अठोट अहिलेको सरकारको रहेको र अब बन्ने एन्फामा राजनीतिक आधारमा नभई नेपालको फुटबलमा योगदान दिएका पूर्वखेलाडीहरू तथा फुटबललाई माया गर्ने र खेललाई राम्रोसँग बुझ्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउने योजना रहेको बताए।
उनले भने, ‘फिफाले एन्फालाई निलम्बन गरेको विषय अहिलेको सरकारले हस्तक्षेप गरेकाले मात्र भएको होइन। विभिन्न समयमा विभिन्न तहबाट सरकारका तर्फबाट हस्तक्षेप हुँदै आएको थियो।’








