गोरखा– गोरखाका दुई सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एनपीआई गोरखा अस्पतालसँग स्वास्थ्य सेवा तथा सहकार्यसम्बन्धी सम्झौता गरेका छन्।
सम्झौतामा गोरखा नगरपालिका–९ स्थित गोरखाकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुजन कुँवर, गोरखा नगरपालिका–७ स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु श्रेष्ठ तथा एनपीआई गोरखा अस्पतालका सञ्चालक एवं मेडिकल डाइरेक्टर संगमबाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौतासँगै दुवै सहकारी संस्थाका पाँच हजारभन्दा बढी बचतकर्ता तथा सदस्यहरूले एनपीआई गोरखा अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट तथा सुविधा प्राप्त गर्ने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार सहकारी संस्थासँगको यस सहकार्यले सदस्यहरूलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवामा पहुँच बढाउनेछ। साथै, समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै सदस्यहरूको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउन पनि यो सहकार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ।
अस्पताल र सहकारी संस्थाबीच भएको यो सहकार्यलाई जिल्लामा स्वास्थ्य सेवा र सहकारी क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने कदमका रूपमा समेत हेरिएको छ।








