काठमाडौं, असार २७ — आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा सामुदायिक विकास संघ, वनस्थली–काठमाडौंको आयोजनामा कक्षा ८, ९ र १० का विद्यार्थीहरूबीच अन्तरविद्यालय कविता प्रतियोगिता आज २०८३ असार २७ गते संघको प्राङ्गणमा सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न विद्यालयका ४४ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा सौरदीप विद्यालयकी आरिका अर्याल प्रथम, ज्ञानमन्दिर बोर्डिङ स्कुलकी सिम्रन वम् द्वितीय तथा सौरदीप विद्यालयकै सिम्रन भुषाल तृतीय हुन सफल भइन्। त्यसैगरी, सिद्धार्थ वनस्थली इन्स्टिच्युटका आशिका पोखरेल र दीक्षिता आचार्य ले प्रोत्साहन पुरस्कार प्राप्त गरे।
उत्कृष्ट पाँचै जना विजेताहरूलाई साहित्यकार, समालोचक तथा कवि एवं प्रतियोगिताका मूल्याङ्कन समितिका संयोजक डा. बमबहादुर थापा ‘जिताली’को हातबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। साथै, नेपाली भाषा, साहित्य तथा शिक्षाक्षेत्रमा उहाँले पुर्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो।
कार्यक्रमको अध्यक्षता भीष्मकान्त घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा साहित्य, शिक्षा तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साहित्यिक स्रष्टा तथा कविहरूले कविता वाचन गरी भानुजयन्तीलाई थप गरिमामय र अर्थपूर्ण बनाएका थिए।
प्रतियोगिता सम्पन्न गर्न मूल्याङ्कन समितिका संयोजक तथा सदस्यहरू, सहभागी विद्यालय परिवार, प्रतियोगी विद्यार्थीहरू, सहकार्य गर्ने संस्थाहरू—लायन्स क्लब अफ बालाजु हाइट, लायन्स क्लब अफ बालाजु ब्राइट, सामुदायिक महिला जागरण मञ्च तथा बालकुमारी हिमपाइप इन्डस्ट्रिज—संघका पूर्वअध्यक्ष तथा सल्लाहकारहरू, स्थानीय संघ–संस्थाका प्रतिनिधिहरू, आजीवन तथा आवधिक सदस्यहरू लगायत सम्पूर्ण सहयोगी तथा उपस्थित महानुभावहरूको उल्लेखनीय सहयोग र सहभागिता रहेको आयोजकले जनाएको छ।
सामुदायिक विकास संघले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दै यस्ता साहित्यिक प्रतियोगिताले विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य तथा सिर्जनशील लेखनप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।









