images
images

कृषि र पशुपालन सेवालाई आधुनिक बनाउने लक्ष्यसहित पालुङटारमा नयाँ भवन उद्घाटन

गोरखा, साउन १३ — गोरखाको पालुङटार नगरपालिका–४, बाह्रपिर्केमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (RUDEP) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न पशु सेवा तथा कृषि विकास शाखाको नयाँ भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

करिब २ करोड ५५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भवन आज आयोजित एक औपचारिक समारोहबीच पालुङटार नगरपालिकालाई हस्तान्तरण गरिएको हो। भवनको उद्घाटन पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भमा प्रमुख प्रशासकीय अधिकृतले स्वागत मन्तव्य व्यक्त गर्दै RUDEP को सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आधुनिक कार्यालय भवन सञ्चालनमा आएपछि कृषि तथा पशु सेवा सम्बन्धी सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख वन्दना पाण्डेले कृषि र पशुपालनलाई नगरपालिकाको आर्थिक विकासको प्रमुख आधारका रूपमा उल्लेख गर्दै किसानलाई समयमै प्राविधिक सेवा, प्रविधि हस्तान्तरण तथा उत्पादनमुखी कार्यक्रम सञ्चालनमा नयाँ भवनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषिको व्यवसायीकरणमा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै किसानमैत्री कार्यक्रमलाई थप सुदृढ बनाइने धारणा राख्नुभयो।

नगर प्रमुख विवस चिन्तनले नवनिर्मित भवनलाई केवल भौतिक पूर्वाधार नभई पालुङटारका किसानलाई सहज, गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउने महत्वपूर्ण आधारका रूपमा व्याख्या गर्नुभयो। उहाँले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि, मूल्य शृङ्खला विकास र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणका लागि नगरपालिका निरन्तर सक्रिय रहेको बताउँदै निर्माण भएको पूर्वाधारको संरक्षण, सदुपयोग तथा प्रभावकारी सेवा प्रवाहमा सबै पक्षको साझा जिम्मेवारी रहने उल्लेख गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, कृषि तथा पशुपालन व्यवसायी किसान, स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समारोहमार्फत निर्माण सम्पन्न भवन औपचारिक रूपमा पालुङटार नगरपालिकालाई हस्तान्तरण गर्दै नियमित सेवा सञ्चालनको शुभारम्भ गरिएको छ।