images
images

बालेनसँग उपकुलपतिहरूको प्रतिबद्धता: विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउँछौँ

काठमाडौँ – विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा सिंहदरबारमा आयोजित उच्च शिक्षा क्षेत्रको अवस्था र चुनौतीसम्बन्धी छलफलमा उनीहरूले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

बैठकमा उपकुलपतिहरूले विश्वविद्यालयको वातावरण अनुकूल राख्न विद्यार्थी युनियनलगायतका राजनीतिक गतिविधि रोक्ने तथा प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई विशुद्ध प्राज्ञिक कार्यमा केन्द्रित गराउने प्रतिबद्धता जनाए।

साथै, आंगिक तथा निजी कलेजहरूमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्ने र राष्ट्रिय शैक्षिक क्यालेन्डर कडाइका साथ पालना गरी परीक्षाको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने कार्ययोजना सार्वजनिक गरे। उनीहरूले जनशक्ति अभाव, जग्गा अतिक्रमण र प्रविधिको कमीजस्ता साझा चुनौतीहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री वालेन्द्र शाहले दीक्षान्त समारोहलाई सातै प्रदेशमा विकेन्द्रीकृत गर्न, बेरुजु घटाउन र अतिक्रमित सम्पत्ति संरक्षणमा निर्मम बन्न निर्देशन दिए।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूलाई ‘एउटै टिम’ का रूपमा सहकार्य गर्न आग्रह गर्दै आगामी सात दिनभित्र स्पष्ट कार्ययोजना पेस गर्न निर्देशन दिए।

बैठकमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. किसानदत्त भट्ट, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. देवेन्द्र अधिकारी, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति प्रा. डा. श्यामनारायण लाभ, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. राजन सुवाल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलको सहभागिता रहेको थियो।