काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न तयार रहेको बताएका छन्।
४४औँ बिपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग शक्तिशाली निकाय भए पनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको बताएका हुन्।
सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानुनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताए।
उनले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली कांग्रेसले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। सभापति थापाले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै कांग्रेसको मुख्य चाहना रहेको स्पष्ट पारे।
‘संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक निकायको व्यवस्था गरेको छ। प्रधानमन्त्री, मन्त्री वा अन्य सार्वजनिक पदाधिकारीले बदनियतपूर्वक गैरकानुनी काम गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई छ। त्यसैले गल्ती भएमा अख्तियारले निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास नागरिकमा हुनुपर्छ,’ उनले भने, ‘तर कतिपय अवस्थामा संवैधानिक संस्थाहरू प्रभावकारी रूपमा काम गर्न नसकेको अनुभव भएको छ। त्यसैले नेपाली कांग्रेसको तर्फबाट हामीले स्पष्ट रूपमा भनेका छौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन आवश्यक परे यसको संरचनागत सुधार गर्न हामी तयार छौँ। यदि त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने त्यसबारे पनि छलफल गर्न तयार छौँ।’








