images
images

सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामाः नारायणकाजी

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको कार्यशैलीका कारण मुलुकको राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाएका  छन्।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकार जनादेशको पालना नगरी उल्टो बाटोमा हिँडेको बताए।

उनले संविधान निर्माणमा भूमिका खेलेका प्रमुख राजनीतिक दलहरूले संविधानको रक्षा र लोकतन्त्र सुदृढीकरणप्रति आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‌मा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति झुट, गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रघाती भएको टिप्पणी पनि गरे। उनले उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्री शाहले आत्मालोचना नगरेको तथा सत्तारुढ दलकै नेताहरूले त्यसलाई समर्थन र प्रमाणित गर्न खोजेको विषय अझै गम्भीर र सोचनीय रहेको बताए।

उनले सरकारले समाजलाई विभाजित गर्दै राज्य फाँसीवादउन्मुख दिशातर्फ अगाडि बढेको टिप्पणी गरे। उनले सरकारले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्था र संविधानको मूल्यमान्यता नै सिध्याउने गरी अघि बढिरहेको आरोप लगाए।

उनले राष्ट्रिय स्वाधीनता र व्यवस्थाको रक्षाको लागि सबै देशभक्त, वामपन्थीहरू एकीकृत हुन आवश्यक रहेको बताए।