२३१ किलोमिटर सडक कालोपत्रे, ४४ पुल, ९४० आवास निर्माणदेखि शिव सर्किट र जलवायुमैत्री पूर्वाधार नीतिसम्मका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै जिम्मेवारीबाट बिदा
हेटौँडा, – बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले आफ्नो ३५१ दिने कार्यकालमा मन्त्रालयले नीति निर्माण, पूर्वाधार विकास, सडक सञ्जाल विस्तार, शहरी विकास, सार्वजनिक भवन व्यवस्थापन तथा विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।
२०८२ साल साउन २० गते मन्त्रालयको जिम्मेवारी सम्हालेर २०८३ साल साउन ६ गतेसम्मको कार्यकालमा मन्त्रालयले दीर्घकालीन विकासलाई टेवा पुग्ने नीति, कानुनी आधार, योजना तथा विकास कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको उनले उल्लेख गरेका छन्।
मन्त्री देवकोटाका अनुसार मन्त्रालयले यस अवधिमा क्लाइमेट रेजिलियन्ट इन्फ्रास्ट्रक्चर प्लानिङ गाइडलाइन, सार्वजनिक भवनमा सर्वसुलभ डिजाइन निर्देशिका, बायो–इन्जिनियरिङ निर्देशिका, शहरी नीति–२०८३, शिव सर्किट परियोजना, एकीकृत बस्ती विकास, फोहरमैला व्यवस्थापन, जनता आवास, खरको छानामुक्त कार्यक्रम तथा जग्गा विकास ऐनजस्ता महत्वपूर्ण नीति तथा कानुनी आधार तयार गर्दै प्रदेशको दीर्घकालीन विकासको आधार मजबुत बनाएको छ।
पूर्वाधार निर्माणतर्फ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २३१.३१ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माण सम्पन्न गरेको छ भने १३६.६६ किलोमिटर ग्राभेल सडक स्तरोन्नति गरेको जनाएको छ। यस अवधिमा ४४ वटा सडक पुल, ६ वटा झोलुङ्गे पुल, १७ सरकारी भवन, १०२ सामुदायिक भवन, ९४० वटा आवास तथा १७ वटा पार्क निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
वर्षौंदेखि अलपत्र परेका आयोजनालाई गति दिने अभियानअन्तर्गत ४१ वटा रुग्ण आयोजनामध्ये ७ वटा सम्पन्न गरिएको तथा २३ वटा आयोजनाको निर्माण कार्य पुनः सञ्चालनमा ल्याइएको मन्त्री देवकोटाले जानकारी दिएका छन्। कार्यसम्पादनमा ढिलाइ गर्ने चार वटा आयोजनामा हर्जाना सहित कारबाही गरिएको पनि मन्त्रालयले जनाएको छ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयले क्विक रेस्पोन्स टिम (QRT) लाई निरन्तर परिचालन गर्दै फाखेल–सिस्नेरी सडक खण्डमा गएको अवरोध २४ घण्टाभित्र हटाएर यातायात सञ्चालनमा ल्याएको जनाएको छ। सार्वजनिक भवनहरूको
अभिलेखीकरण तथा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन बिल्डिङ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (BMIS) समेत विकास गरिएको छ।
प्रदेश सरकारको प्रशासनिक भवन निर्माण प्रक्रिया पनि यस अवधिमा अघि बढाइएको छ। नेपाल सरकारबाट आवश्यक भोगाधिकार प्राप्त गरी रुख कटान प्रक्रिया सुरु गरिएको तथा धार्मिक पर्यटन प्रवर्द्धनका लागि शिव सर्किट परियोजनाको कार्यान्वयनको आधार तयार गरिएको मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय विकास साझेदारी विस्तारका लागि विश्व बैंक, एशियाली विकास बैंक (ADB) तथा एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (AIIB) लगायतका विकास साझेदारसँग सहकार्य सुदृढ गर्ने प्रक्रिया पनि अघि बढाइएको मन्त्री देवकोटाले बताएका छन्।
आर्थिक प्रगतितर्फ मन्त्रालयले २२ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी विनियोजित बजेटमध्ये १४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खर्च गर्दै ६३.४० प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मन्त्रालयले प्रादेशिक सडक गुरुयोजना, राजधानी चक्रपथ, सडक सुरक्षा, पुल निर्माण, जलवायु उत्थानशील पूर्वाधार, पहिरो नियन्त्रण, स्थानीय तह केन्द्र जोड्ने सडक, शिव सर्किट, एकीकृत फोहरमैला व्यवस्थापन, मुख्यमन्त्री आवास कार्यक्रम, सर्वसुलभ डिजाइनमा आधारित पूर्वाधार तथा सार्वजनिक भवन सम्पत्ति बीमा लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।
जिम्मेवारीबाट बिदा हुँदै मन्त्री डा. देवकोटाले आफ्नो कार्यकालमा प्राप्त अनुभव, सहयोग र सहकार्य सधैँ स्मरणीय रहने उल्लेख गर्दै मन्त्रालयले आगामी दिनमा पनि विकास र समृद्धिको यात्रालाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने पार्टी नेतृत्व, मुख्यमन्त्री, सत्ता साझेदार दल, मन्त्रालय परिवार, सचिवालय टोली तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दै बागमती प्रदेशवासीको सुख, स्वास्थ्य र समृद्धिको कामना गरेका छन्।








