काठमाडौँ – नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा महानिरीक्षक कार्कीले १ हजार १०४ किलोमिटर लामो दक्षिणी सीमा क्षेत्रमा नागरिकको सुरक्षाका लागि प्रहरीका ३ सय ६ वटा इकाइहरू परिचालित गरेको बताएका हुन्।
उनका अनुसार यसमा स्थायी युनिटका साथै नागरिकको सुरक्षार्थ स्थापना गरिएका अस्थायी प्रहरी चौकीहरूसमेत समावेश छन्। सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षा र प्रहरीसम्मको सहज पहुँच सुनिश्चित गर्न यी इकाइहरूले महत्वपूर्ण भूमिका खेलिरहेको उनले उल्लेख गरे।
उनले लागुऔषधको अवैध ओसारपसारले तराईदेखि हिमालका चुचुरासम्मका युवाहरू प्रभावित भएको बताए। लागुऔषध मात्र नभई हातहतियार र विस्फोटक पदार्थको ओसारपसार, सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र मानव बेचबिखनजस्ता संगठित अपराध नियन्त्रण गर्नु प्रहरीको मुख्य चुनौती बनेको बताए।
महानिरीक्षक कार्कीले भन्सार छली र तस्करी नियन्त्रणलाई राष्ट्रिय सुरक्षा र आन्तरिक आर्थिक सुरक्षासँग जोडेर हेर्नुपर्ने बताए। सीमा क्षेत्रमा हुने अपहरण र शरीर बन्धक जस्ता घटनाले नागरिकको सुरक्षा अनुभूतिमा प्रत्यक्ष असर पुर्याएको उनको भनाइ छ।
पछिल्लो समय नक्कली मुद्राको कारोबार र डिजिटल ठगी नयाँ चुनौतीका रूपमा उदाएको उनले जानकारी दिए। सीमापारि नक्कली नेपाली रुपैयाँ उत्पादन गरी नेपालमा वितरण गर्ने गरिएको र डिजिटल वालेटमार्फत नागरिकको बैंक खाताबाट रकम चोरी हुने घटनाहरू बढेको उनले बताए।
चिट्ठा परेको प्रलोभन देखाएर गरिने साइबर ठगी, अनलाइन सट्टेबाजी र हुण्डी कारोबारले वित्तीय सुरक्षामा गम्भीर असर पारेको उनले बताए। सीमा क्षेत्रमा हुने डुबान, वन पैदावार र नदीजन्य पदार्थको अवैध दोहन तथा कवाडी सामानको तस्करीका कारण समूहगत द्वन्द्व बढ्ने गरेको उनले उल्लेख गरे। यस्ता गतिविधिले वातावरणीय समस्याका साथै शान्ति सुरक्षामा समेत खलल पुर्याएको उनको ठहर छ।
उनले भने, ‘दक्षिणी सीमाको १ हजार १०४ किलोमिटर क्षेत्रमा नेपाल प्रहरीले ३०६ वटा प्रहरी इकाइ (अस्थायी प्रहरी चौकीसहित) परिचालन गरी सीमावर्ती नागरिकको सुरक्षा गर्दै आएको छ। दक्षिणी सीमामा खुला आवतजावतका कारण लागुऔषध ओसारपसार, हातहतियार तथा विस्फोटक पदार्थको तस्करी, संगठित अपराध, मानव बेचबिखन, मानव तस्करी, अवैध भन्सार छली, तस्करी, अपहरण, नक्कली मुद्रा, हुन्डी कारोबार, साइबर तथा वित्तीय ठगी, जुवा–सट्टेबाजी, महिला तथा बालबालिकाको अवैध ओसारपसार, वन पैदावार, नदीजन्य पदार्थ र कवाडी वस्तुको अवैध निकासी–पैठारीजस्ता चुनौतीहरू रहेका छन्।’








