काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ पुस्तामा वैचारिक स्कुलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताएका छन्।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताएका हुन्।
उनले विदेशी शक्तिहरूले मुलुक र जनतालाई भ्रममा पार्न लामो समयदेखि रणनीति बनाइरहेको कुरा समयमै थाहा नपाउँदा मुलुकको भूराजनीतिक संकटतर्फ उन्मुख भएको टिप्पणी गरे।
उनले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लतमार्फत चिनियाँ जनतालाई कमजोर बनाएर स्रोतसाधनमाथि कब्जा गरेको स्मरण गर्दै उनले नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको तर्क गरे। उनले वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरुको कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएको उनको टिप्पणी छ।
सामाजिक सञ्जालमा ‘एल्गोरिदम म्यानिपुलेसन’ मार्फत नयाँ पुस्तालाई प्रभावित बनाउने कार्य भएको भन्दै त्यसको प्रतिवादका लागि कम्युनिष्ट शक्तिहरूले वैचारिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘हामीले निरन्तर स्कुलिङ गर्न नसक्दा नयाँ पुस्तालाई हाम्रो त्यो कमजोरीमाथि टेकेर नेपाली जनतालाई पनि अफिम खुवाएछन्। मैले जनताको अपमान गर्न खोजेको होइन। कस्तो अफिम? सोसियल मिडियाबाट अल्गोरिदम म्यानिपुलेसनको। अफिममै लठ्ठ पारिदिए सबैलाई। अब हामीले पनि अफिम युद्ध चलाउनुपर्ने भएको छ। अर्को कुनै उपाय छैन।’








