काठमाडौं -मोरङको सुनवर्षी नगरपालिका–९ मा चार वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेको घटनाप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको गम्भीर ध्यानाकर्षण भएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ मन्त्री बादीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत संवाद गरी घटनाको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले निष्पक्ष, द्रुत र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न तथा घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही सुनिश्चित गर्न निर्देशन दिनुभएको छ।
मन्त्री बादीले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ। साथै, बालबालिकामाथि हुने हिंसा तथा अपराधप्रति सरकारको शून्य सहनशीलताको नीति रहेको दोहोर्याउँदै न्याय सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ।








