images
images

रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नारायणकाजी

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैलीले मुलुकको राष्ट्रियता, संविधान र लोकतन्त्रमाथि गम्भीर प्रहार गरिरहेको बताएका छन्।

नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारका पछिल्ला गतिविधिले नकारात्मक दिशा लिएको बताएका हुन्।

श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताका सवालमा सरकारले गम्भीर घात गरेको उल्लेख गरे। नेपालले भारतको भूमि मिचेको भनी संसद्‌मा दिइएका अभिव्यक्तिको रास्वपाका नेताहरूले समर्थन गरेको र त्यसलाई पुष्टि गर्न खोजेको भन्दै उनले आपत्ति जनाए।

नेपाली राजनीतिको इतिहासमा यसअघि कहिल्यै यस्तो प्रकृतिको राष्ट्रहित विपरीत र समाजलाई विभाजित गर्ने काम नभएको उनको भनाइ छ। संविधान र लोकतन्त्रको रक्षाका सम्बन्धमा बोल्दै नेता श्रेष्ठले वर्तमान सरकार संविधानले परिकल्पना गरेको ‘समाजवाद उन्मुख’ राज्य र अर्थतन्त्रप्रति प्रतिबद्ध नरहेको आरोप लगाए।

संविधान संशोधनको विषयमा टिप्पणी गर्दै उनले संविधानको मूल मर्म र लोकतन्त्रको रक्षालाई केन्द्रमा राखेर मात्र संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। लोकतन्त्रको हत्या गर्ने गरी ल्याइने संशोधनको विरुद्धमा उभिनुपर्ने उनको तर्क छ।

उनले सरकारले वाक तथा संगठन स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको बताए। शैक्षिक र प्राज्ञिक संस्थाहरूलाई दलीयकरणबाट मुक्त गर्ने बहानामा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै उनले विरोध जनाए।

सरकारले एकातिर दलीयकरण मुक्त भन्ने तर अर्कोतिर आफ्ना पक्षका व्यक्तिहरूलाई महत्वपूर्ण संवैधानिक र न्यायिक निकायमा नियुक्ति दिने दोहोरो चरित्र देखाएको उनको आरोप छ।

सुकुम्वासी समस्याका सन्दर्भमा बोल्दै श्रेष्ठले सरकारको कार्यशैली अमानवीय भएको बताए। डोजर र सुरक्षाकर्मीको प्रयोग गरी सुकुम्वासीहरूलाई रातारात उठाइएको, होल्डिङ सेन्टरमा आधारभूत सुविधाबाट वञ्चित गरिएको र उनीहरूलाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले सरकारको आलोचना गरे।