काठमाडौँ – गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई खटाइएको छ।
यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौँ तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा खटाइएको छ। थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ। साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौँमा कार्यरत डिएसपी मदन नाथलाई पठाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो। घटनामा परेर ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थियो।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भइसकेको छ। समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने छ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।








