images
images

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न सभापति थापाको माग

काठमाडौँ – कांगेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।

सोमबार विज्ञप्ति जारी गर्दै सभापति थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था सिर्जना हुनुलाई सरकारको गम्भीर सुरक्षा कमजोरी ठहर गर्दै यसको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।

सामाजिक सद्भावमा असर पर्न सक्ने संवेदनशील परिस्थितिमा राज्य अझ बढी संयमित, सतर्क र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। थापाले केवल सुरक्षा निकायका प्रमुख परिवर्तन गरेर मात्र नपुग्ने र सही तथा निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

थापाले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन, घाइतेहरूको अविलम्ब उपचार गर्न र प्रभावित क्षेत्रमा शान्तिसुरक्षा एवं जनविश्वास पुनःस्थापित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले परिस्थिति थप जटिल नबनोस भन्नका लागि अफवाह वा उत्तेजनामा नलागी सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।