images
images

सरकार पुराना सरकारभन्दा पनि पछि पर्ने चिन्ता बढ्यो : प्रचण्ड

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति चिन्ता व्यक्त गर्दै सरकार पुराना सरकारभन्दा पनि पछि पर्ने हो कि भन्ने आशंका बढ्न थालेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले कप्तानगञ्ज घटनादेखि सुकुम्बासी व्यवस्थापन, सीमासम्बन्धी विषयलगायत पछिल्ला घटनाक्रमले सरकार गम्भीर दिशामा अघि बढ्न नसकेको संकेत गरेको बताए।

सरकार गठनपछि जिम्मेवार र परिणाममुखी काममार्फत जनताको अपेक्षा पूरा हुने विश्वास गरिएको भए पनि हालसम्मका गतिविधिले त्यसको अनुभूति गराउन नसकेको उनको भनाइ थियो।

‘सरकारले राम्रो गर्ला भन्ने अपेक्षा थियो। तर कतिपय अवस्थामा त पुराना सरकारभन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता व्यक्त हुन थालेको छ। म अझै पनि यही चिन्ताका साथ यी विषय उठाइरहेको छु,’ प्रचण्डले भने।

उनले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको उल्लेख गर्दै सरकारको असफलताले मुलुकलाई नै गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए।

‘तपाईंहरू असफल हुनुभयो भने सरकार मात्रै होइन, नेपाल राष्ट्र नै असफल हुने खतरा छ। त्यसैले सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने।

प्रचण्डले सरकार संवादबाट जति टाढा जान्छ, त्यति नै राष्ट्र र जनता अप्ठ्यारोमा पर्ने भन्दै सबै पक्षसँग संवाद र सहकार्यलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे।