काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहालगायत जिल्लाका सांसदहरूलाई गृह जिल्ला फर्किएर बढ्दो तनाव कम गरी सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा मधेस र कोशी प्रदेशका सांसदहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिएको सांसद रहबर अन्सारीले जानकारी दिए।
उनका अनुसार बैठकमा सभापति लामिछानेले कुनै पनि किसिमको धार्मिक सद्भाव भड्कन नदिने कुरामा पार्टी गम्भीर रहेको भन्दै निर्वाचन क्षेत्र गएर जिम्मेवार भूमिका निर्वाह गर्न निदेशन दिएका हुन्।
सांसद अन्सारीले पार्टीको निर्देशनबमोजिम सबै सांसदहरू आ–आफ्नो जिल्ला जान लागेको बताए।
अन्सारीले भने, ‘पार्टीका प्रत्येक सांसद र सदस्यले समेत मुलुकको उत्पन्न समस्याको अनरसिप लिनुपर्छ भन्दै उहाँ(सभापति)ले स्पष्ट निर्देशन दिनुभएको छ। पार्टीका सम्पूर्ण सांसदहरू आ–आफ्नो जिल्लामा गएर समन्वयकारी भूमिका खेल्न र सद्भावको सन्देश दिँदै यसप्रकारका सामाजिक सद्भाव कायम राख्न भूमिका खेल्नू भन्नुभएको छ। सोही अनुरुप हामी आ–आफ्नो प्रदेश र जिल्ला जान्छौँ। र राज्यका संयन्त्रहरूसँग आवश्यक समन्वय पनि गर्छौँ।’








