काठमाडौँ – सिरहाको गोलबजारमा भएको तनावपूर्ण घटनाको वास्तविकता पत्ता लगाउन मधेश प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । घटनाको कारण, सुरक्षा व्यवस्थापन र प्रहरीको भूमिकासहित समग्र पक्षको अध्ययन गर्न समिति बनाइएको हो ।
प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको जनाएको छ । समितिका सदस्यमा प्रहरी निरीक्षक यज्ञराज भट्ट र सहायक प्रहरी निरीक्षक गोविन्द झा रहेका छन् ।
प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालका अनुसार समितिलाई घटनाको वस्तुस्थिति पहिचान गर्ने, विवाद उत्पन्न हुनुका कारण अध्ययन गर्ने र घटनाक्रमसँग सम्बन्धित तथ्य संकलन गरी प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।
गोलबजारमा दुई समुदायबीच भएको विवादले तनावको अवस्था सिर्जना भएपछि प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा गोली चलेको घटनाबारे विभिन्न प्रश्न उठेपछि त्यसको यथार्थ विवरण संकलन गर्न छानबिन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै सम्बन्धित व्यक्ति तथा पक्षहरूसँग आवश्यक छलफल गर्नेछ । साथै, उपलब्ध प्रमाण र सूचनाको विश्लेषण गरी घटनाको वस्तुगत निष्कर्षसहित प्रतिवेदन प्रदेश प्रहरीलाई बुझाउनेछ ।
प्रहरीले घटनाको तथ्यमा आधारित मूल्यांकनका आधारमा आगामी कदम तय गरिने जनाएको छ ।








