काठमाडौँ – सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा गृहमन्त्रीद्वारा कुनै विशेष वा ठोस सम्झौता नभएको स्पष्ट पारेको छ।
मंगलबार सञ्चारकर्मीहरूसँगको भेटघाटका क्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्रीको भ्रमण र विभिन्न पक्षसँग भएका भनिएका सहमतिबारे सरकारको धारणा सार्वजनिक गरेका हुन्। मन्त्री पोखरेलले गृहमन्त्री सुधन गुरुङले प्रभावित क्षेत्रका विभिन्न सरोकारवालाहरूसँग भेटघाट गरी वस्तुस्थितिको बारेमा जानकारी लिएको र समस्या समाधानका लागि संवाद गर्न सरकार तयार रहेको सन्देश मात्र दिएको बताए।
मधेसका जिल्लाहरूको भ्रमणका क्रममा गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेना तथा आन्दोलनका पीडित पक्षहरूसँग भेटघाट र छलफल गरेका थिए। त्यस क्रममा भएका भनिएका सहमतिबारे प्रष्टीकरण दिँदै मन्त्री पोखरेलले कुनै एउटा विशेष बुँदामा आधारित भएर प्रश्न उठे त्यसको विस्तृत र आधिकारिक जानकारी स्वयं गृहमन्त्रीले नै गराउने बताए।
उनले भने, ‘गृहमन्त्रीज्यूले गर्नुभएको सम्झौता भनिएको विभिन्न स्टेकहोल्डरहरुसँग उहाँले भेट्नु भयो। कति स्टेकहोल्डरहरूसँग उहाँले त्यहाँ बसेर कुराकानी पनि गर्नु भयो। र अहिले तत्कालका लागि विभिन्न विषयमा छलफल गर्न आवश्यक भए छलफल गर्न सकिन्छ। कुनै विशेष मुद्दामा पोजेटिभ नेगेटिभ भन्दा पनि समग्र विषयहरु जुन उठान भएका छन्, ती विषयहरूमा छलफल गर्न सकिन्छ भन्ने खालको मात्र उहाँले गर्नुभएको छ। त्योभन्दा बाहेक विशेष कुनै एउटा बुँदामै रहेर त्यो प्रश्न भए गृहमन्त्रीज्यू उहाँले नै यसको बारेमा जानकारी गराउनुहुनेछ। सरकारको तर्फबाट त्यस्तो कुनै एउटा विषयवस्तुमा पोजेटिभ नेगेटिभ हुने गरी सम्झौता भएको छैन।’
उनले थपे, ‘अर्को विषय भनेको अहिले त्यो छानबिन समितिले कसैको त्यहाँ कमजोरीहरू औंल्याएको हुनसक्ने भन्ने विषयमा त्यो छानबिन समितिबाट आएको रिपोर्ट सरकारसमक्ष आइसकेपछि निष्पक्ष रुपमा जे सुझाव गरिएको हुन्छ, त्यो छानबिन रिपोर्टले जे देखाएको हुन्छ, त्यहीअनुसार सरकारले काम–कारबाही अगाडि बढाउँछ।’
हालका लागि आन्दोलनरत पक्षका मागहरू र समग्र शान्ति सुरक्षाको अवस्थाबारे संवादको ढोका मात्र खुला राखिएको र कुनै ठोस सहमति भइनसकेको सरकारको भनाइ छ।








