अमेरिकासँगको युद्ध र वार्ताबीच इरानमा वार्ताप्रति ‘सफ्ट’ मानिने विदेशमन्त्री अब्बास अराघचीलाई पदबाट हटाउने तयारी गरिएको छ। अर्कोतर्फ इरानी राष्ट्रपतिको अधिकारसमेत व्यापक कटौती गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्।
इरानका केही सांसदहरूले विदेशमन्त्री अब्बास अराघचीलाई पदबाट हटाउने तयारी थालेको जनाएका छन्। इरान इन्टरनेशनलका अनुसार वरिष्ठ सांसद होसैनअली हाजीदेलिगानीले मंगलबार महाअभियोगको प्रक्रिया अघि बढाएको जनाएका छन्।
उनले भने, ‘हामी अराघचीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्न आवश्यक प्रमाण र कागजात सङ्कलन गरिरहेका छौँ। उपयुक्त समय आएपछि यो प्रक्रिया अघि बढाइने छ।’
अर्कातर्फ इरानका राष्ट्रपति मसुद पेजेशकियनको अधिकारमा ठूलो कटौती गरिएको खबर पनि सार्वजनिक भएको छ। इजरायली च्यानल-१४ को रिपोर्टअनुसार सर्वोच्च नेता मुजतबा खामेनेईले सुरक्षा र विदेश नीतिसम्बन्धी महत्त्वपूर्ण निर्णयमा राष्ट्रपतिको भूमिका सीमित गरेका हुन्।
रिपोर्टअनुसार सर्वोच्च नेताको नियन्त्रणमा रहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)लाई अहिले झनै शक्तिशाली बनाइएको छ। राष्ट्रिय सुरक्षा, आणविक कार्यक्रम र अमेरिकासँगको वार्ताजस्ता संवेदनशील विषयमा अब आइआरजिसीका कमाण्डर अहमद वाहिदीको निर्णयलाई अन्तिम मानिने बताइएको छ।
यसैबीच राष्ट्रपति पेजेशकियनले इरान युद्धलाई निरन्तरता दिन नचाहेको तथा युद्धलाई थप चर्काउने पक्षमा नभएको बताएका छन्। उनले देशको सुरक्षामा कुनै खतरा उत्पन्न भए इरानले आफ्नो सीमाको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने बताए।
पेजेशकियनले भने, ‘चाहे त्यो कुनै टोल–छिमेकको विवाद होस् वा दुई देशबीचको युद्ध, युद्ध आफैँमा एउटा रोगजस्तै हो। हामी आफ्नो सीमाको रक्षा गर्नेछौँ तर युद्धलाई थप फैलाउन चाहँदैनौँ।’
उनले राजीनामा दिने हल्लाबीच आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्। सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पद नछोड्ने र देशको सुरक्षाका लागि सेनासँग समन्वय गरेर काम गरिरहेको बताए। उनको यो प्रतिक्रिया वरिष्ठ धर्मगुरु मोहम्मद-बाकेर खर्राजीले पेजेशकियनले २८ पटक राजीनामा दिने धम्की दिएको दाबी गरेपछि आएको हो।
खर्राजीले पेजेशकियनलाई अर्कोपटक राजीनामा दिने धम्की स्वीकार्य नहुने र राजीनामा दिए स्वीकार गरिने चेतावनी दिएका थिए।







