काठमाडौँ – निर्वाचन क्षेत्र नम्बर ३ का सांसद राजुनाथ पाण्डेले सोमबार गोकर्णबाट सडक विस्तार गर्दा नेपाली सेनासँग विवाद नभएको दाबी गरेका छन्।
नेपाल ट्रष्टको स्वामित्व र सेनाको संरक्षणमा रहेको गोकर्ण फरेष्ट रिसोर्टको जंगलको छेउबाट सडक विस्तारका क्रममा सुरुमा केही असहज अवस्था भए पनि पछि सेनाकै सहयोगमा काम गरेको पाण्डेले जनाएका हुन्।
मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पाण्डेले माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्न पर्खाल हटाउने क्रममा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक खबरहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले सडक विस्तारको क्रममा सेनाको टुकडीलाई जानकारी पुग्न केही मिनेट ढिलाइ भएका कारण प्रारम्भिक रूपमा केही असहज अवस्था सिर्जना भएको थियो। तर, तत्पश्चात् नेपाली सेनाका प्रमुख सेनानीसँगको आपसी समन्वय र छलफलपछि नेपाली सेनाकै पूर्ण सहयोग तथा सहकार्यमा उक्त सडक विस्तारको कार्य सफलतापूर्वक सम्पन्न गरिएको सांसद पाण्डेले जनाए।
सडक विस्तारको काम काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा गरिएको दाबी गरेका छन्।
सांसद पाण्डेले नेपाली सेनाको गौरवशाली इतिहास, अनुशासन र राष्ट्रप्रतिको समर्पणप्रति उच्च सम्मान व्यक्त गर्दै सेनाले सधैँ अग्रपङ्क्तिमा रहेर र्पुयाएको योगदानको प्रशंसा गरेका छन।
सडक विस्तारको क्रममा पाण्डेले सेनाका अधिकृतसँग वादविवाद गरेको भिडियो सार्वजनिक छ। उक्त विषयमा प्रधानसेनापति अशोक सिग्देलले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटेर असन्तुष्टि जनाएका छन्।







