काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने निर्णयबाट पछि हटेका छन्।
भक्तपुरको गुन्डुमा भएको छलफलका क्रममा अध्यक्ष ओलीले तत्कालका लागि कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय सुनाएका हुन्।
प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टिकाराम भण्डारी र मुख्यमन्त्री कार्कीसँगको सामूहिक छलफलमा ओलीले सबैका कुरा सुनेर हाललाई काम जारी राख्न र पछि उपयुक्त निर्णय गर्ने बताएका थिए।
यसअघि एमाले अध्यक्ष ओलीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन कार्कीलाई राजीनामा दिन निर्देशन दिएका थिए।
कार्कीले राजीनामा दिन अस्वीकार गरेपछि उनलाई काठमाडौँ बोलाइएको थियो। उता प्रदेशमा भने ओली पक्षका नेताहरूले कार्कीविरुद्ध हस्ताक्षर संकलन अभियान चलाएका थिए।
कार्कीलाई संसदीय दलको नेताबाट हटाउने वा विश्वासको मत फिर्ता लिनेसम्मको तयारी ओली पक्षको थियो।
तर, एमाले प्रदेश संसदीय दलको विधानमा दलको नेता हटाउन दुई तिहाइ सांसदको समर्थन चाहिने व्यवस्था रहेको र कार्की पक्षले दुई तिहाइ पुग्न नदिने रणनीति लिएको थियो।
विधानको उक्त व्यवस्थालाई लिएर पार्टीभित्र विवाद देखिएको थियो। मुख्यमन्त्री कार्कीले पनि आफू दुई तिहाइ प्रदेश सभा सदस्यको विश्वासको मत लिएर संविधानको उपधारा ५ अनुसार बनेको सरकारको नेतृत्व गरिरहेकाले सहजै राजीनामा नदिने अडान राखेका थिए।









